18/07/2026
रास्वपाका सभापति रवि लामिछानेले प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारको नियतमा कुनै संका नभएको स्पष्ट पारेका छन् । हिजो रौतहटका विभिन्न पार्टी नेताहरूसँगको कुराकानीमा सभापति लामिछानेले सरकारको नियतमा कुनै संका नभएको र सरकारका निर्णयले हानि पुर्याए तत्काल सच्याउने बताए ।
रवि लामिछानेले भनेका कुरा जस्ताको त्यस्तै :
सरकार निर्णयहरूमा कहिलेकाहीँ समस्या आउन सक्छ, त्यसमा करेक्सन गर्न सकिन्छ। नियत खराब भयो भने कहाँ करेक्सन गर्ने ? नियत करेक्सन गर्न गाह्रो हुन्छ। निर्णयहरू त राम्रो निर्णय गर्दा दुईरचारवटा निर्णयले विवाद ल्याउन सक्छ। गर्दै जाँदा व्यवहारमा किसानको पक्षमा निर्णय गर्छु भन्दा त्यही निर्णय किसानको विपक्षमा भइदियो भने करेक्सन गर्न सकिन्छ। सरकारले जसका लागि लाभ होस् भनेर निर्णय गरेको छ, त्यो निर्णयले लाभ होइन हानी भएछ भने त्यसमा निर्णयहरू परिवर्तन हुन्छ। त्यसमा चिन्ता गर्नु पर्दैन। तर अलिकति समय हामीले दिनुपर्छ। कहिलेकाहीँ व्यवहारमा उतार्नका निमित्त केही काम हो, त्यसले धेरै ठुलो ड्यामेज गर्यो भने त त्यसलाई रातारात परिवर्तन गर्नुपर्छ। तर कहिलेकाहीँ नेतृत्वले एउटा उद्देश्यका साथ एउटा भिजन देखेर त्यसलाई ल्याएको हुन्छ। त्यसलाई कार्यान्वयन गर्ने केही चुनौतीले गर्दा खत्तम हो कि भन्ने जस्ता भाष्यहरू सिर्जना हुन्छन्। कुनै पनि सरकारले लिएको नीति किसानलाई अप्ठ्यारो पार्ने, मजदुर वर्गलाई अप्ठ्यारो पार्ने, गरिब विपन्न वर्गलाई अप्ठ्यारो पार्ने कालान्तरमा देखिएको खण्डमा त्यस्ता कुनै पनि नीतिहरू परिवर्तन हुन्छन्। यो अपरिवर्तनीय कुरा होइन, परिवर्तन हुन सक्छ। थोरै समय मात्र धैर्यता दिनुभएको छ, दिनुहोला। आज तपाईँले भन्नुभएका कुराहरू मैले मनन गरेको छु। र यसलाई अझ औपचारिक रूपमा पत्र मार्फत माननीयज्यूहरूले सम्बन्धित मन्त्रालयलाई, सम्बन्धित मन्त्रालयको ध्यानाकर्षण गराउनुहुनेछ। त्यो मन्त्रालयबाट गरिएको ध्यानाकर्षणमा काम कारबाही भएन, मन्त्रीज्यूहरूबाट या मन्त्रालयबाट भएन भने पार्टी छ। पार्टीले आफ्नो अभिभावकत्व लिनबाट कहिल्यै पछि हट्दैन, चिन्ता नगर्नुहोला। पार्टी अभिभावक हो, पार्टीले हेर्नेछ।