28/08/2026
जीवनमा कैयौं उतारचढाव भोगियो
सबभन्दा स्थिर त आमा नै भेटियो।
प्रेम र ममताका कथाहरु धेरै पढियो
वास्तविक ममताको खानी आमामै भेटियो।
छोरो भएर छोरी बन्न सकिएन होला
बाको ठाउँ पनि आमाले नै लिएको भेटियो।
संघर्षका कथाहरु त सबैका हुञ्छन्
सबैको चिन्ताको भार बोकिदिने आमा नै भेटियो।
यो जीवनकालमा त्यो ममताको ऋण जे जसो गरेनि कहिल्यै तिर्न नसकिने निचोड निकालियो।
ममतमयी आमालाई जन्मदिनको अटूट शुभकामना। सुस्वास्थ्य अनि निश्चिन्त जीवनको असीम शुभकामना। साथै सबै सनातनीलाई जनै पूर्णिमाको हार्दिक शुभकामना। 🕉🌺🙏
27/08/2026
मनमा शब्दहरु मडारिरहँदा पनि निःशब्द छु। विपद्मा सबै भावनात्मक रुपमा एकजुट हुनुपर्छ। भूगोल अनुसार विकासको खाका कोर्नुपर्छ भवितव्य परिस्थितिलाई नियालेर। 🕉
24/08/2026
सर्वं परवशं दुःखं सर्वमात्मवशं सुखम्।
एतद् विद्यात् समासेन लक्षणं सुखदुःखयोः॥
*(मनु.- ४.१६०)*
अन्यजन को (अरूको) अधीनमा गरिने सबै कार्य दुःखदायक हुञ्छन्, र आँफ्नै अधीनमा गरिने सबै कार्य सुखदायक हुञ्छन्। सङ्क्षेपमा एसैलाइ सुख र दुःख को लक्षण जान्नु।
मेरो व्यायाम सिकाउने लक्ष्य यही हो कि हर जो कोहीलाई व्यायाममा स्वाधीन बनाउने, न कि मेरै अधीनमा होस् भन्ने चाहना राख्ने।
पराधीनता दुःखको र स्वाधीनता सुखको लक्षण हो। जतिसक्दो चाँडो बुझिञ्छ त्यति सहज हुञ्छ।
🙏🏻🌺*सुप्रभातम्*🌺🙏🏻
नमो रुद्राय 🕉🔱🙏
18/08/2026
अङ्ग्रेजीमा एउटा भनाइ छ,
“याक्सन स्पिक्स लाउडर द्यान वर्ड्स”
यसको अर्थ हुञ्छ बोलीको भन्दा बढी कामको आवाज ठूलो हुञ्छ।
तपाईंहरुलाई लाग्दैन यो व्यायामको क्षेत्रमा एकदम लागू हुञ्छ भनेर?
एउटा साधारण कुरा मानी लिऊँ। एकजना पौडीको बारेमा थियोरी सबै कुरा थाहा छ तर पानीभित्र पसेर उसले अरुलाई पौडिन सिकाउन सक्दैन। आफू पनि राम्रोसँग पौडिन सक्दैन। तर पौडीको शब्दावली ज्ञानको भण्डार नै छ। के तपाईं त्यस्तो व्यक्तिसँग पौडी सिक्न जान सक्नुहुञ्छ? जानुहुञ्छ? आफ्नो बच्चालाई पौडी सिकाउन लैजानुहुञ्छ? मलाई त एक रौं पनि विश्वास लाग्दैन कोही पौडी सिक्न जाञ्छ भनेर। गहकिला शब्दहरु प्रयोग गरी पट्याएर सिकाउने मार्ग चैं प्रशस्त हुञ्छ नै।
व्यायाममा पौडीभन्दा धेरै शब्दावलीहरु हुञ्छन्। शब्दले मात्रै कुनै हालतमा नि व्यायाम गर्न सकिन्न पनि र शरीर रुपान्तरण पनि गर्न सकिन्न। तीतो यथार्थ हो यो। बरु केही शब्द नजानेरै व्यायाम गरी आफ्नो शरीर रुपान्तरण गरेको व्यक्तिले धेरैथोरै आफ्नो अनुभवबाट सिकाउन सक्छ।
ज्ञान हुनु एकदम राम्रो हो तर त्यतिले मात्र पर्याप्त हुँदैन। कर्म पनि उत्तिकै गरी त्यसको अनुभव गर्नुपर्छ। अनि बल्ल सुनमा सुगन्ध फैलिञ्छ। यसर्थ, बोलीले भन्दा कामले बढी देखाउनु उत्तम हुञ्छ। असम्भव भन्ने नै छैन नि यहाँ। किन नगर्ने?
तस्विर त्यस्तै ९-१० वर्ष अघिको हो।
ॐ नमो रुद्राय 🕉🔱🙏
14/08/2026
आजभन्दा १५-२० वर्ष अगाडिसम्म नेपाली मेडिकल डाक्टरहरुलाई स्वास्थ्यको लागि व्यायामको बारेमा बुझाउनुपर्थ्यो। दर्जनौं डाक्टरहरुसँग व्यायामको महत्वबारे प्रत्यक्ष बहस गरेको छु। अहिलेको अवस्थामा विभिन्न डाक्टरहरुले शारीरिक व्यायामको महत्वबारे कुराहरु गरिरहेका हुञ्छन्, सामाजिक सञ्जालतिर देख्न पाइञ्छ।
यत्तिका वर्षमा यहाँ हजारौं पर्सनल ट्रेनर बनिसकेका छन्। अझ कति त ईण्टरनेशनल सर्टिफाइड पनि भएका छन्। तर सामाजिक सञ्जालतिर व्यायामको महत्वबारे त्यति बोलेको देखिंदैन। उनीहरुले झन् धेरै सिकाउनुपर्ने हो नेपाली जनमानसलाई।
यसको कारण के हुन सक्ला? जवाफ तपाईंहरुकै।
ॐ नमो रुद्राय 🕉🔱🙏
12/08/2026
फूर्तिलो केटाहरु देख्यो भने साह्रै बचपन याद आउँछ।
भर्खर १५ वर्ष लाग्यो केटो। १४ वर्ष लागिसकेपछि यहाँ जिम गर्न उसको दाइले ल्याएको थियो। दाइ चैं नि १५ वर्षको उमेरमा व्यायाम सिक्न आएको थियो। यहाँ सिकेको कुराहरु घर गएर भाइलाई चुनौतीको रुपमा सिकाउँदो रहेछ। भाइ चैं जब्बर भएर निस्किएको छ।
हरेक उमेर समूहलाई राम्रो तरिकाले सिकाउनुपर्छ। म चैं सिकाउने माञ्छे नभएर आफै ट्रायल याण्ड एरर बाट धेरै कुराहरु सिक्दै गएको थिएँ। यस्तो फूर्तिलो केटाहरु देखेर साह्रै बचपन याद आउँछ। यिनीहरुलाई आफ्नो बचपन पनि सुनाएर सिकाउने गर्छु।
आफ्नो छोराछोरीहरुलाई पनि सानैदेखि कुनै न कुनै शारीरिक खेलहरुमा समावेश गराउनुहोस्। अहिलेको एआईको युगमा झन् बढी यसको महत्व छ। किनकि शारीरिक बल स्वास्थ्य कसैले कसैको लागि गर्दिन सक्दैन। आफै कमाउनुपर्छ। बच्चाहरुमा यो ज्ञान हुँदैन, अभिभावकले नै डोर्याउनुपर्छ।
ॐ नमो रुद्राय 🕉🔱🙏
11/08/2026
हामी प्राणी प्रतिरोधबिना ढलेको मुढा जस्तै हुञ्छौं।
धेरैले सोध्ने गर्छन् कि घरमा के कस्तो व्यायाम गर्न सकिञ्छ भनेर। व्यायाम भनेको घरमा गर्ने वा व्यायामशालामा गएर गर्ने भन्ने नै हुँदैन। व्यायाम केवल अवरोधसँग जुध्ने अभ्यास मात्र हो। त्यो घरमै गरेपनि, व्यायामशालामा गएर गरेपनि, बाहिर आँगनमा गरेपनि वा जुनसुकै स्थानमा गरेपनि अभ्यास त्यही हो, प्रतिरोधको।
कति कुरा त हामीले ख्यालै गरेका हुन्नम्। हामी हिंडदा वा दौडँदा हातहरु हल्लिञ्छन्। त्यहाँ अदृश्य वायुले अवरोध गरिरहेको हुञ्छ। त्यो हावा काट्नलाई हातहरु हल्लाउनुपर्दछ। त्यही हो अवरोधको प्रतिरोध। जसरी डुङ्गा गन्तव्यमा पुर्याउन पानीको अवरोधसँग जुधेर खियाउनुपर्छ त्यस्तै हो हाम्रो धर्तीको प्रतिरोध। यदी डुङ्गा खियाइएन भने त्यो यसै पानीको छालहरुसँगै खेल्दै बस्छ, गन्तव्यमा पुग्दैन, किनकि त्यहाँ कुनै प्रतिरोध हुँदैन। हामी हरबखत गुरुत्वसँग प्रतिरोध गरी बाँचिरहेका हुञ्छौं। प्रतिरोध नगरी हामी ढलेको मुढा सरी हुञ्छौं।
व्यायाम अलिकति नि भिन्न छैन। घरमै पनि आफ्नै शरीरको वजनसँग प्रतिरोधात्मक अभ्यास गरी व्यायाम गर्न सक्छौं। ६०-७० केजीको शरीरलाई कुनै कुनै व्यायाम गर्न निकै मुश्किल हुञ्छ। जस्तै पुस अप्स। कहिले पनि पुस अप्सको अभ्यास नगरेको व्यक्तिवाई आफ्नै शरीरको वजन केवल हातको पञ्जा र खुट्टाको औंलाहरुको बलले उचाल्न निकै मुश्किल हुञ्छ। प्राय असम्भव नै हुञ्छ। तर बिस्तारै शरीरलाई बलियो बनाउँदै लैजाने तरिका नभएको चैं हैन। छ।
पुस अप्स जस्तै असर गर्ने खालको व्यायाम भनेको बेञ्च प्रेस वा चेस्ट प्रेस हो। त्यो व्यायामशाला गएर गर्न नि मिल्छ, घरमै भुईंमा उत्तानो परेर गर्न पनि मिल्छ। त्यसमा फेरि पनि चाहिने भनेको भार हो। त्यो भार डम्बेल पनि हुनसक्छ, एक एक लिटरको बोटलको पानी ना जे भरे पनि हुनसक्छ। त्यो भारले अवरोध खडा गर्छ। त्यो अवरोधसँग जुध्दै निश्चित चाल अभ्यास गर्नु नै व्यायाम हो। अब शरीरले त्यो प्रतिरोध खप्न सक्ने भएपछि एक किलो हलुका लाग्न थाल्छ। हलुका वा सहजतामा व्यायाम हुँदैन। अब फेरि प्रतिरोध बढाउनुपर्छ व्यायाम हुनको लागि। कि भार बढाउनुपर्यो कि प्रतिरोध खप्न नसक्ने गरी त्यो चाल पूरा गर्नुपर्यो। अनि बल्ल त्यो व्यायाम बञ्छ।
जति व्यायाम गरेपनि यदी शरीरले प्रतिरोध खप्न नसक्ने बिन्दुसम्म पुगिन्न तबसम्म त्यो व्यायाम हुँदैन। पुनः प्रतिरोधबिना शरीर मुढा जस्तै हुञ्छ भने शरीरमा व्यायाको प्रभाव हुने कुरै हुँदैन।
ॐ नमो रुद्राय 🕉🔱🙏