04/08/2026
😢 हामीलाई खेल्न दे सरकार : फिफा निलम्बन फिर्ता गराई नेपाली फुटबल बचाउन राष्ट्रिय खेलाडीहरूको सामूहिक अपिल 🙏
घरेलु शीर्ष डिभिजन लिगको अभावमा नेपाली फुटबल खेलाडीहरूले साढे तीन वर्षभन्दा बढी समयदेखि निरन्तर पीडा र अन्योल भोग्दै आएका छन्। जुन समय हाम्रो खेलजीवनको सबैभन्दा महत्वपूर्ण चरण हुनुपर्ने थियो, त्यही समय हामी उच्चस्तरीय फुटबल खेल्दै क्लब र राष्ट्रको प्रतिनिधित्व गर्नुको सट्टा अवसरको अभावमा बिताउन बाध्य भएका छौं। पछिल्लो समय फिफाले एन्फामाथि लगाएको निलम्बनका कारण नेपाली फुटबल झनै गम्भीर संकटमा पुगेको छ। यसले खेलाडी मात्र होइन, प्रशिक्षक, रेफ्री, प्राविधिक, कर्मचारी, क्लब तथा फुटबलसँग प्रत्यक्ष–अप्रत्यक्ष रूपमा जोडिएका हजारौं व्यक्तिको भविष्य र जीविकोपार्जनमा समेत गम्भीर असर पारेको छ।
यस अवस्थामा हामी फिफा, एएफसी, राष्ट्रिय खेलकुद परिषद् (राखेप) तथा नेपाल सरकारसँग तत्काल हस्तक्षेप, सार्थक संवाद र ठोस समाधानका लागि हार्दिक अपिल गर्दछौं। नेपाली फुटबललाई थप अन्योल र क्षतितर्फ जान नदिन सम्बन्धित सबै पक्षले आफ्नो जिम्मेवारी गम्भीरतापूर्वक वहन गर्दै आवश्यक पहल अघि बढाउन जरुरी छ। यो कुनै टकराव वा आरोप–प्रत्यारोपको प्रयास होइन; लामो समयदेखि अवसर र भविष्यको प्रतीक्षामा रहेका खेलाडीहरूको पीडा, आवश्यकता र बाध्यताबाट जन्मिएको सामूहिक आवाज हो। ढिलो हुँदै गएमा नेपाली फुटबलले दीर्घकालीन र अपूरणीय क्षति व्यहोर्नुपर्ने जोखिम छ।
हामीलाई धेरै केही चाहिएको छैन—हामी केवल फुटबल खेल्न चाहन्छौं। आफ्ना क्लब र देशको प्रतिनिधित्व गर्दै मैदानमा उत्रिन, आफ्नो प्रतिभा विकास गर्न र आफ्ना सपनाहरूलाई जीवित राख्न चाहन्छौं। त्यसैले सम्बन्धित सबै निकायसँग हाम्रो विनम्र तर दृढ आग्रह छ—नेपाली फुटबललाई बचाउन आवश्यक कदम तत्काल चालियोस्, फिफा निलम्बनको समाधान खोजियोस् र खेलाडीहरूलाई फेरि मैदानमा फर्कने वातावरण बनाइयोस्। खेलाडीहरूको आवाज सुनियोस्, समर्थकहरूलाई जवाफ दिइयोस् र नेपाली फुटबललाई पुनः गतिशील बनाइयोस्। 🙏⚽🇳🇵
02/08/2026
01/08/2026
30/07/2026
30/07/2026
30/07/2026
29/07/2026
29/07/2026
28/07/2026